Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा थाइराइड चेकजाँच सेवा पुनः सुचारु 

बैतडी – जिल्ला अस्पताल बैतडीमा थाइराइड चेकजाँच सेवा फेरी सुचारु भएको छ । मेसिन बिग्रेर बन्द रहेको थाइराइड चेकजाँच सेवा पुनः सुचारु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । मेसिन मर्मत गरेर ल्याएपछि थाइराइड चेकजाँच सेवा पुनः सुचारु भएको अस्पताल प्रमुख डा. श्रेष्ठले बताए । 

थाइराइड चेकजाँच सेवा पुनः सुचारु भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । थाइराइडका बिरामीहरुका लागि जिल्ला अस्पतालमा चेकजाँच शुरु भएपछि सजिलो हुने डा. श्रेष्ठले बताए । थाइराइड चेकजाँचका लागि ३ सय देखि सातसय रुपैंया खर्च हुने बताइएको छ । 

थाइराइड बढेको अथवा घटेको पत्ता लगाउन पनि चेकजाँच गर्नुपर्ने हुन्छ । त्यसका लागि जिल्ला अस्पतालमै सुविधा भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालले जनाएको छ । यस्तै थाइराइको औषधि सेवन गरिरहेकाहरुलाई पनि बेलाबेला स्वास्थ्य परीक्षणका लागि सहज भएको बताइएको छ । 

शरीरमा थाइराइड कम भएमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाहरुको महिनावारी अनियमित हुने लगायतका लक्षणहरु देखा पर्ने हुन्छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update