बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन रणनीति बनाउने बतएको छ । सुर्नया बालसञ्जालले आयोजना गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन रणनीति अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष मञ्जु महरा बोहराले सो कुरा बताएकी हुन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यविधि बनाएर अघि बढ्ने बताए । उनले भने ‘बालअधिकारको प्रत्याभूत गर्नका लागि पालिकाले आफ्नो तर्फबाट सक्दो पहल गर्नेछ ।’बालमैत्री पालिका बनाउन आवश्यक सूचकहरु पूरा गर्ने तर्फ पालिकाले ध्यान दिने अध्यक्ष कुँवरले बताए ।
सुर्नया बालसञ्जालको आयोजना तथा गाउँपालिकाको सहयोगमा गरिएको अन्तरक्रियामा ८० जना बालबालिका, जनप्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको सुर्नया बालसञ्जालका अध्यक्ष विशाल भट्टले बताए ।
सुर्नया बालसञ्जाल बालअधिकारका बारेमा थुप्रै काम गरेका र अबका दिनमा पनि बालअधिकारका क्षेत्रमा कटिबद्ध भएर आफूहरु लाग्ने अध्यक्ष भट्टले बताए ।




