Sagun Khabar
बैतडीको श्रीभावर –हाट सडकमा पहिरो, दुई घर जोखिममा 

बैतडी – लगातारको बर्षाले बैतडीको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा दुई घर जोखिममा परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ भूमीराजको भटेडी भन्ने स्थानमा पहिरो खस्दा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन् । 

पहिरोले घरको आँगन बगाएको स्थानीयहरुले बताएका छन् । पानी पर्ने क्रम जारी रहेकाले पहिरोले थप क्षति निम्त्याउन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण समेत गरिएको छ । 

ढोल्यामोडबाट चार किलोमिटर दुरीमा सडकमा पहिरो खसेको र पहिरोले स्थानीयका दुई घर जोखिममा पारेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । आइतबार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर प्रभावित परिवारलाई सहयोग गर्ने बचन दिएका छन् । 

अनुगमन निरीक्षणका क्रममा पहिरोको जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट वाल निर्माण गर्ने र क्षतिको विवरण संकलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्ने निर्णय भएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै पहिरोका कारण अवरुद्ध भएको सडक सुचारु गर्न लागि पहिरो पन्छ्याउने काम भइरहेको र वाल निर्माणको काम समेत शुरु भइसकेको बताइएको छ । 

बर्षातको समयमा विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले त्यस्ता ठाउँमा जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट अनुगमन, निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update