बैतडी –विश्व जनसंख्या दिवसको अवसरमा बैतडीमा सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र फाया नेपालको सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले राष्ट्रिय जनसंख्या नितीका बिषयमा जानकारी गराउनुका साथै जनसांख्यिक अवस्थाको बारेमा छलफल गरेका थिए ।
अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवरले जनसंख्याका बिषयमा ग्रामीण क्षेत्रहरुमा जानकारी गराउनुपर्नेमा जोड दिए । यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जनसंख्याको लाभ लिन सक्ने अवस्था रहेको भन्दै यो तर्फ सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा सहभागी किशोरकिशोरीहरुले विभिन्न सवालहरु राखेका थिए । किशोरकिशोरीका समस्याहरु समाधान गर्ने तर्फ सरोकारवालाहरुको ध्यान जानुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ ।
सन् १९८९ देखि हरेक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।
नेपालका ७७ जिल्लामध्ये उच्च हिमाल र मध्य पहाडका ३२ जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर ऋणात्मक छ ।




