बैतडी –कैलालीकी सांसद लक्ष्मी चौधरीले बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी क्याम्पस प्रमुख राजेन्द्र नेगीविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले बलात्कार आरोप लागेका क्याम्पस प्रमुख नेगी विरुद्ध मुद्दा दर्ता हुनुपर्ने बताएकी हुन् ।
असार २० गते क्याम्पस प्रमुख नेगीले एक मजदुर महिलालाई बलात्कार गरे पनि प्रहरीले अझै मुद्दा दर्ता गर्न नमानेको चौधरीले बताइन् । बैठकमा बोल्दै उनले भनिन् – ‘पीडित महिलाले प्रहरीमा उजुरी गर्न जाँदा पिडकले धम्की दिएको ती महिलाले बताएकी छन् । त्यसको सत्य तथ्य छानबिनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण होस् । घटना दर्ता होस् र पीडितले न्याय पाओस्।’
नेगीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी चौधरी समुदायकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै नेगीविरुद्ध कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन् ।
नेगीले सोमबार पदबाट राजीनामा दिइसकेका हुन्। नेगीले आफूप्रतिको आग्रह र पूर्वाग्रहका कारण केही अमुख व्यक्ति, राजनीतिक दलका भातृसंगठनहरुले अपुष्ट कुरा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकोले सत्यतथ्य छानबिन नहुन्जेलसम्मका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।




