बैतडी –नेपाली कांग्रेस बैतडीले स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ । जिल्ला सदरमुकाम गोठलापानीमा सोमबार बसेको पार्टीको बैठकले चुनावी समीक्षा गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।
पार्टी सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा सबै पालिकाको चुनावी समीक्षा गरिएको छ । गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस चार स्थानीय तहमा जित हात पारेको थियो । पाँच ओटा स्थानीय तहमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रेको नेपाली कांग्रेसले २०७४ सालको भन्दा कमजोर नतिजा प्राप्त गरेको छ ।
विगतको चुनावमा भएका कमजोरीलाई सच्याउँदै साउन तेश्रो साताबाट गाउँगाउँमा अभियान चलाउने निर्णय समेत भएको सचिव जोशीले बताए । उनले भने ‘हामीले बैठकमा पार्टीलाई गतिशील बनाउने बिषयमा छलफल गरेका छौं । यसका साथै साउन तेश्रो साताबाट गाउँगाउँमा अभियान सञ्चालन गर्नेे निर्णय पनि गरेका छौं ।’
बैठकमा नेपाली कांग्रेसका सबै पालिकाका सभापति, पार्टीका जिल्ला कार्यसमिति सदस्य, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।




