Sagun Khabar
उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका बैतडीका दुई जनाले भत्ता फिर्ता गरे 

बैतडी –बैतडीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका १६ जना मध्ये दुई जनाले भत्ता फिर्ता गरेका छन् । आफूले लिएको भन्दा दोब्बर भत्ता फिर्ता गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । एकजनाले भत्ता मात्रै फिर्ता गरेका छन् भने अर्का एकजनाले भत्ता सहित नागरिकता ऐन अनुसारको जरीवाना तिरेर नागरिकताको प्रतिलिपि लिएका छन् । 

जिल्लाको डिलाशैनी गाउँपालिकाका एकजना र मेलौली नगरपालिकाका एकजनाले सामाजिक सुरक्षा भत्ता फिर्ता गरेको हो । राष्ट्रिय परिचय पत्र विवरण संकलनका क्रममा तथा जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा अनुसन्धान गर्दा बैतडीमा १६ जनाले आफूखुसी नागरिकतामा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिइरहेको फेला परेको हो । 

बाँकी रहेका १४ जनामाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको सूचना अधिकारी भारतीले बताए । उनीहरुले अहिले सम्म लिएको सामाजिक सुरक्षा भत्ताको दोब्बर रकम असुल गरिने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update