बैतडी –गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै बैतडी कांग्रेसमा दुई दर्जन उजुरी परेका छन् । पार्टीका जिम्मेवारी पदाधिकारी विरुद्ध नै उजुरी परेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै लिखित र मौखिक रुपमा दुई दर्जन उजुरी परेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । परेका उजुरीका बिषयमा जिल्ला कार्यसमितिले अध्ययन गरिरहेको समेत उनले बताए । उनले भने ‘आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै उजुरी परेका छन् । उजुरीका बिषयमा हामीले अध्ययन गरीरहेका छौं ।’
जिल्ला कार्यसमितिमा परेका उजुरीका बिषयमा अध्ययन गरेर जिल्ला कार्यसमितिको अर्को बैठकमा छलफल गरिने सचिव जोशीले बताए । सोमबार बसेको बैठकमा उजुरीका बिषयमा समान्य छलफल भएपनि थप छलफल भने नभएको उनले बताए ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका जिम्मेवार नेताहरुले नै अन्तर्घात गरेको, अर्को पार्टीका लागि भोट मागेर कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै उजुरी परेका बताइएको छ ।
बैतडीका १० ओटा स्थानीय तह मध्ये नेपाली कांग्रेसले चार ओटा स्थानीय तहमा मात्रै जित हासिल गरेको थियो ।




