Sagun Khabar
बैतडीको डिलाशैनीमा मतदाता संख्या बराबर कागतीका बिरुवा वितरण 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले मतदाता संख्या बराबर कागतीका बोट वितरण गरेको छ । गाउँपालिकाभरीका व्यवसायिक किसानहरुका साथै अन्य किसानहरुलाई कागतीका बोट वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । 

फलफूलको बगैंचा स्थापना गर्ने किसान, कृषि सहकारी संस्था, कृषि फर्म लगायतलाई आवश्यकता अनुसार बोट वितरण गरिएका छन् भने अन्य किसानहरुलाई कागतीका बोट वितरण गरिएका प्रवक्ता भट्टले बताए । गाउँपालिकाभरी १३ हजार ५ सय कागतीका बिरुवा निशुल्क रुपमा वितरण गरिएका हुन् । 

कागतीका विरुवा रोप्ने किसानहरुका लागि सूचना आह्वान गरिएको र सोही सूचनाका आधारमा आवेदन दिने किसान, कृषि सहकारी संस्था, कृषि फर्म लगायतलाई कागतीका बोट वितरण गरिएका गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । आफूले मतदाता संख्या बराबर वृक्षारोपण गर्ने घोषणा गरेको र सोही अनुसार कागतीका बोट वितरण गरिएका उनले बताए । ७ ओटै वडा कार्यालय मार्फत किसानहरुलाई कागतीका बिरुवा वितरण गरिएका हुन् । 

कागतीका बिरुवा लगाउने पूर्व तयारी गरेका किसानहरुलाई विरुवा वितरण गरेको बताइएको छ । किसानहरुलाई फलफूल खेतीका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्य सहित फलफूलका बिरुवा वितरण गरिएका अध्यक्ष जोशीले बताए । सिजन अनुसार अन्य फलफूलका बिरुवा पनि वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update