बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ देवलहाटका ३ बर्षीय बालक भुवन ठगुन्नाको उपचारका लागि १ लाख २९ हजार ९६३ रुपैंया संकलन भएको छ । मुटुमा समस्या भएका ठगुन्नाको आर्थिक अभावका कारण उपचार गर्न नपाएको जानकारी पाएपछि शिवांश हेल्प फाउण्डेसनले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको थियो ।
बालकको उपचारका लागि आर्थिक अभाव भएको कुरा जानकारीमा आएपछि फाउण्डेसनले सहयोग संकलन अभियान शुरु गरेको फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । अहिले बालकको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर काठमाडौमा उपचार भइरहेको बताइएको छ ।
उपचाररत बालकको उपचारका लागि संकलित रकमले पुग्ने भएकाले अहिले आर्थिक संकलन अभियान स्थगित गरेको फाउण्डेसनका अध्यक्ष अवस्थीले बताए ।
भुवनका बुवा श्याम ठगुन्ना र आमा मानमती ठगुन्नाको आग्रहमा सहयोग अभियान सञ्चालन गरिएको थियो । अभियानमा विभिन्न ठाउँबाट सहयोगीहरुले साथ दिएका थिए ।
हर्नियाको उपचारका लागि भुवनलाई केही दिन पहिला डडेल्धुरामा लगेकोमा डाक्टरले मुटुमा समेत समस्या रहेको भनेपछि ठगुन्ना परिवारले आर्थिक अभावमा उपचार गराउन पाएका थिएनन् । अहिले सहयोग रकम संकलन भएपछि बाबुको उपचार शुरु गरिएको भुवनका बुवा श्याम ठगुन्नाले बताए । सहयोगी सबैलाइ उनले धन्यवाद समेत ज्ञापन गरेका छन् ।




