बैतडी –बैतडीको दशरथचन्द नगरपालिका भित्रका विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बढेको तलब पाएका छैनन् । चालु आर्थिक बर्षमा ६ महिना बढेको तलब पाएपनि ६ महिना भने बढेको तलब नपाएको बालविकास सहजकर्ता संघर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन् ।
नगरपालिकाको पूर्ववर्ती सरकारले न्यूनतम तलबमा ७ हजार बढाएर दिने निर्णय गरेको भएपनि पछिल्लो ६ महिनाको तलब आफूहरुले नपाएको उनले बताइन् । उनले भनिन् ‘यसअघिको नगर सरकारले गरेको निर्णय अनुसार हामीले तलब पाउनुपर्छ । हामीले तलब पाउनुपर्ने माग राखेका छौं ।’
दशरथचन्द नगरपालिकाभरी १४५ जना बालविकास सहजकर्ता र विद्यालय कर्मचारी रहेका छन् । ७१ जना बालविकास सहजकर्ता, १९ जना लेखापाल र ५५ जना कार्यालय सहयोगी रहेका छन् ।
यता दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले पूर्ववर्ती सरकारले निर्णय मात्रै गरेको तर बजेट विनियोजन नगरेकाले तलब खुवाउन समस्या रहेको बताए । आगामी आर्थिक बर्षदेखि उनीहरुको बढेको तलब दिइने उनले बताए । उनले भने ‘निर्णय मात्रै भएको छ । तर बजेट छैन् । बजेट नभएपछि कहाँबाट तलब खुवाउने ? आगामी आर्थिक बर्षमा हामी निर्णय गरेर उनीहरुलाई तलब खुवाउछौं ।’




