Sagun Khabar
बैतडीमा पकेट क्षेत्रमै मकैमा व्यापक क्षति, किसान चिन्तित 

बैतडी –यो बर्ष मकै उत्पादनमा कमी आउने भन्दै बैतडीका किसान चिन्तित बनेका छन् । लगातारको बर्षा र हावाहुरीले जिल्लाका धेरै जसो स्थानमा मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा हावाहुरी र बर्षाले मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिकाका अधिकांश स्थानमा मकैबालीमा क्षति पुगेको स्थानीय पुरनसिंह ऐरले बताए । हावाहुरी र बर्षाले घोगा लाग्नै लागेको मकै ढलेपछि किसानहरु चिन्तित बनेका उनले बताए । उनले भने ‘हाम्रो ठाउँको मुख्य खाद्यबाली मकै नै हो । तर मकैमा क्षति भएपछि भोकमरी हुने सम्भावना बढेको छ ।’

जिल्लाको पाटन नगरपालिका वडा नं २ मा हावाहुरी र बर्षाले मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय किसान नन्दसिंह ऐरले बताए । उनले भने ‘घोगा लाग्नै लागेको मकै ढलेपछि हामीलाई निकै चिन्ता बढेको छ । बर्षा र हावाहुरीले मकै सोत्तर भएको छ ।’

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा पनि मकैबाली ढलेर नष्ट भएको स्थानीय तेजन बोहराले बताए । मकैबाली ढलेपछि उत्पादनमा कमी आउने आँकलन गरिएको छ । 

यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा बिहीबार बर्षासंगै आएको हावाहुरीले क्षति पुर्याएको छ । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएकै ठाउँमा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन् । बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update