Sagun Khabar
बैतडीको काँडामहादेव आविमा  काम गरेका मजदुरले ज्याला पाएनन्,आर्थिक अनियमितताको आशंका 

बैतडी –बैतडीको एक विद्यालयमा काम गरेका मजदुरहरुले ज्याला नपाएको गुनासो गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ५ स्थित काँडामाहादेव आधारभूत विद्यालयमा काम गरेका मजदुरहरुले ज्याला नपाएका हुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा दुइ कोठे भवन निर्माणमा काम गरेका मजदुरहरुले आफुहरुले ज्याला  नपाएको बताएका छन् । 

भवन निर्माणका लागि ढुंगा निकाल्ने, बोक्ने काम गरेको भएपनि आफुले अहिले सम्म ज्याला नपाएको एक जना मजदुर शंकर बोहराले बताए ।  उनले  भने ‘भवन निर्माणका लागि ढुंगाको सबै काम मैले  लिएको हुँ । तर  अहिले सम्म ज्याला मिलेको छैन् ।’ 

आफू जस्तै अन्य काम गरेका मजदुरहरुले  पनि ज्याला नपाएको उनले  बताए । 

भवन निर्माणको काम अलपत्र 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत काँडामाहादेव आधारभूत १८ लाख बजेट आएको थियो  । विद्यालय व्यवस्थापन समितिले काम पनि  सुरु गर्याे । यहि असार मसान्तमा सक्ने लक्ष्य राखिएपनि अहिले सम्म भने भवन निर्माणको काम सम्पन्न हुन सकेको छैन् । 

असार मसान्तमा सक्ने लक्ष्यका साथ भवन निर्माण कार्य सुभारम्भ गरिएको पनि अहिले  सम्म काम नसकिएको काँडामाहादेव आधारभूत विद्यालयका प्रधानाध्यापक झिमा बोहराले  बताइन् । उनले  भनिन् ‘पोहोर साल असार पछि बाट काम सुरु गरिएको हो , अहिले  सक्ने  लक्ष्य थियो , अहिले  सम्म पुरा हुन सकेको छ्रैन।’ 

प्रधानाध्यापक बोहराका अनुसार भवनको आधा काम सम्पन्न भइसकेको छ । तर मजदुरले काम गरेको पैसा नपाएपछि अहिले भवन निर्माणको काम रोकिएको प्रधानाध्यापक बोहराले बताइन् । 

विद्यालय व्यवस्थापन समिति मार्फत नै काम भइरहेकाले समिति अध्यक्ष बीरसिंह बोहराका कारण भवन निर्माण कार्य अलपत्र परेको आरोप लागेको छ । विद्यालयले भने अध्यक्ष बोहरालाई साढे ११ लाख रुपैंया निकासा दिइसकेको बताएको छ । प्रधानाध्यापक बोहराका अनुसार अध्यक्ष बोहराको खातामा एकपटक ९ लाख र दोश्रो पटक अढाइ लाख गरेर साढे ११ लाख रुपैंया निकासा भइसकेको छ ।  १८ लाख मध्ये बाँकी रकम विद्यालयको खातामा रहेको बताइएको छ । तर मजदुरहरुले भने रकम नपाएको गुनासो गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भने वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाण्डौं पुगेका छन् । 

भवन निर्माणमा आर्थिक हिनामिनाको आशंका 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरालाई साढे ११ लाख निकासा गरिसकेको भएपनि मजदुरहरुको पैसा नदिएपछि आर्थिक हिनामिनाको आरोप लाग्न थालेको छ । विद्यालयबाट रकम निकासा भइसक्दा समेत आफूहरुले पैसा नपाएकाले आर्थिक अनियमितता भएको मजदुरहरुले बताएका छन् । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष  के भन्छन् ?

यता विद्यालय व्यवस्थापन समिति अध्यक्षले  आर्थिक हिनामिना  गरेको भन्ने आरोप झुटा भएको बताए । उनले भने ‘मैलै कुनै आथिर्क हिनामिना गरेको छैन् । बुझेको पैसा सामग्री खरिदमा खर्च भएको छ । केहि मजदुरहरुको पनि ज्यला दिएको छु ।’ उनले भने ‘म भिसा लगाउन काठमाण्डौंमा । मंगलबार मेरो मेडिकल जाँच छ । मेडिकल गरेर घर आउँछु । त्यसपछि भवन निर्माण कार्य सकेर फरफारक गर्छु ।’ 

 केहि दिनमा घर फर्केर भवन निर्माण सम्पन्न गर्ने र कामदारको पनि ज्यला दिने अध्यक्ष बोहराको भनाइ  छ ।   

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update