बैतडी –स्वास्थ्य कार्यालय बैतडीले शनिबार पत्रकार अन्तरक्रिया सम्पन्न गरेको छ । चालु आर्थिक बर्षमा कार्यालयबाट सम्पादन भएका कामका बारेमा जानकारी दिनका लागि अन्तरक्रिया गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । आगामी दिनमा गर्नुपर्ने काम, सुधार्नुपर्ने पक्ष लगायतका बिषयमा अन्तरक्रियामा छलफल भएको उनले बताए ।
स्वास्थ्य कार्यालयले चालु आर्थिक बर्षमा टाइफाइड विरुद्धको खोप अभियान, कोभीड व्यवस्थापन, मानसिक स्वास्थ्य शिविर, प्रजनन स्वास्थ्य शिविर, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचार शिविर, परिवार नियोजन शिविर, नसर्ने रोग सम्बन्धि शिविर, विद्यार्थी लक्षित एकीकृत स्वास्थ्य शिविर लगायतका शिविरहरु सम्पन्न गरेको जनाएको छ । साथै स्वास्थ्य कार्यालयले विपन्न तथा मानसिक रोगीहरुको निशुल्क उद्दार समेत गरेको जनाएको छ ।
जिल्लामा आवश्यकता अनुसारको जनशक्ति कम हुनु, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी अभाव, निशुल्क औषधिको अभाव, उपकरणको अभाव, गाउँघर किल्निक तथा खोप केन्द्रहरु संचालनमा समस्या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिको अभाव लगायतका कुरा स्वास्थ्य क्षेत्रले भोेगीरहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।
यस्तै जिल्ला अस्पताल बैतडीले पनि अन्तरक्रियामा चालु आर्थिक बर्षमा सम्पादन गरेका कामको बारेमा जानकारी दिएको छ । जिल्ला अस्पतालमा अहिले दुई बिशेषज्ञ सहित ८ जना डाक्टरहरुले सेवा दिईरहेको भएपनि नयाँ बनेको भवन हस्तान्तरण नहुँदा उपचारमा समस्या भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताए ।
अन्तरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्वास्थ्य कार्यालले जस्तै अन्य कार्यालयले पनि सम्पादन गरेका कामहरुका बारेमा पत्रकारहरु मार्फत नागरिकहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिए । जिल्ला अस्पतालको नयाँ भवनबाट सेवा दिने कुरालाई व्यवस्थापन गर्न आफूले पनि पहल गर्ने उनले बताए ।




