Sagun Khabar
बैतडीको हरिनगर बजार कटानको जोखिममा 
तस्बिर : चमेलिया नदीको कटानमा परेको हरिनगर बजार

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ स्थित हरिनगर बजार चमेलिया नदीको उच्च कटानमा परेको छ । प्रत्येक बर्ष नदीले बजार क्षेत्रमा कटान गर्दै आइरहेको भएपनि यसलाई जोगाउन पहल गरिएको छैन् । 

चमेलिया नदी बजार छेउ भएर बग्ने र हरेक बर्षातको समयमा कटान गर्दै गएको स्थानीय तेजराज नाथले बताए । उनले भने ‘हरिनगर बजार कटानको जोखिममा छ । यसलाई जोगाउनका लागि कुनै पहल भएको छैन् ।’

हरिनगर बजार कटानको उच्च जोखिममा परेको स्थानीय व्यापारी नरेन्द्र कार्कीले बताए । हरेक बर्षातमा चमेलियाले बजार बगाउने चिन्ता लाग्ने गरेको उनले बताए । 

Atrya hospital

डिलाशैनी गाउँपालिकाको ठूलो बजारको रुपमा रहेको हरिनगर बजारलाई कटानबाट जोगाउन कसैले पहल नगरेको व्यापारीले गुनासो गरेका छन् । चमेलिया नदीमा तटबन्ध नलगाए नदीले कुनै बेला पनि बजार बगाउन सक्ने स्थानीय व्यापारीहरुले चिन्ता गरेका छन् । 

हरिनगर बजार जोगाउन चमेलिया नदीमा तटबन्ध लगाउन आवश्यक रहेको भन्दै उनीहरुले तटबन्ध लगाउन माग समेत गरेका छन् । ‘बजार जोगाउन तटबन्ध नलगाए बजारमै क्षति हुन सक्छ । त्यसैले बजार क्षेत्र जोगाउन स्थानीय सरकारले समेत आवश्यक पहल गर्नुपर्दछ ।’स्थानीय व्यापारी चन्नरी नाथले भने, ‘हरिनगर बजार प्रत्येक बर्ष कटान हुँदै आएको छ । यो बजार जोगाउन सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’

चमेलिया नदीको कटानले बजारका ३५ भन्दा बढी पसल जोखिममा परेका छन् । समयमै बजार जोगाउन पहल नगरे लाखौको नोक्सानी हुन सक्ने स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update