Sagun Khabar
दूध र मासुमा आत्मनिर्भर बन्दै कञ्चनपुर

कञ्चनपुर –कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ ।  

कञ्चनपुरमा सात हजार दुई सय ४५ मेट्रिक टन मासुको माग रहेकोमा सात हजार तीन सय ८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडकबहादुर पाण्डेयले बताए । उनका अनुसार एक सय ४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ ।

कञ्चनपुरमा ४७ हजार एक सय पाँच मेट्रिक टन दूधको माग भएकोमा ७० हजार सात सय ६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ।

उनका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो । 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update