Sagun Khabar
कञ्चनपुरमा पूजारी पक्राउ परेपछि ब्राह्मण समाजको विरोध 

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थित महाकाली नदीको भुजेला घाटमा दलित समुदायका व्रतालु महिलाको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारी सहदेव भट्टलाई प्रहरीले पक्राउ गरेपछि ब्राह्मण समुदायका अगुवा विरोधमा उत्रिएका छन् । उनीहरुले मंगलबार महेन्द्रनगरस्थित मदनचोकमा भेला भएर मौन विरोध प्रदर्शन गरेका छन् । 

आचार्य घनश्याम लेखक सहित ब्राह्मण समुदायका अगुवाहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सरकार र गैर सरकारी निकायले ब्राह्मणमाथि गरेको विभेदविरुद्ध आफूहरु आन्दोलनमा उत्रेको बताएका छन् । विरोध स्वरुप महेन्द्रनगरको मदनचोकमा मौन धर्नामा बसेको उनीहरुले बताएका छन् । 

ऋषि पञ्चमीका दिन भुजेला घाटमा थर थाहा पाएर पूजापाठ गर्न अस्वीकार गरेपछि आफूमाथि सार्वजनिक स्थलमा जातीय भेदभाव गरिएको भन्दै भीमदत्त नगरपालिका ५ कि सन्जु नेपाली लगायतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुजारी भट्टविरुद्ध जाहेरी दिएका थिए । 

प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि पुजारी भट्टलाई पक्राउ गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन पीडितसहित दलित समुदायका अगुवा पुगेका थिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update