Sagun Khabar
छठ पर्वको व्रत विधि शुरु, आज ‘नहाय–खाय’

काठमाण्डौ – छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो बिहीवार व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि गरेका थिए ।

आज व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खान्छन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । हिजो ‘अरबा–अरबाइन’ र आज ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकी पख अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

यसपालि  छठको समापन आउँदो सोमवार बिहान सूर्योदयसँगै गरिने छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । यस्तै काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि छठको रौनक बढ्दो छ । नदी तटलाई झकिझकाउ बनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update