
बैतडी–गएराति डोटीको जोरायल गाउँपालिका–२ मेलखोलामा विद्युतीय हाइस दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका एकै घरका एकजनाको मृत्यु र चार जना घाइते भएपछि गाउँ शोकमा डुबेको छ ।
भारतको हरिद्वारबाट तीर्थ स्नान गरेर फर्किदै गरेका यात्रु चढेको हाइस मंगलबार राति साढे ११ बजेतिर दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका –४ जोखल्लीका ४५ बर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ । एकै परिवार चारसहित ६ जना घाइते भएका छन् ।
आफ्ना बुवाको एक बर्षको किरिया कर्म सकेर हर्कबहादुर नेगी परिवारका सदस्यसहित तीर्थ स्नानका लागि हरिद्वार गएका थिए । हरिद्वारबाट फर्कने क्रममा भएको हाइस दुर्घटनामा परी उनको मृत्यु भएको छ भने परिवार चारसहित ६ जना घाइते भएका छन् ।
एकै घरका एक जनाको मृत्यु र चारजना घाइते भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको स्थानीय नरेन्द्र नेगीले बताए । हर्कबहादुर नेगीको घरमा आज पूजाआजा गर्ने तयारी थियो । तर गएरातिको घटनाले गाउँ शोकमा डुबेको उनले बताए । उनले भने, ‘आज हर्कबहादुरको घरमा सत्यनारायणको कथासहित पूजाआजाको तयारी थियो । तर गएरातिको घटनाले गाउँमा रुवाबासी चलेको छ ।’
दुर्घटनामा श्रीमानको मृत्यु भएपछि हर्कबहादुरकी श्रीमती राजमती नेगी होसमा आउन सकेकी छैनन् । गाउँभरी रुवाबासी चलिरहेको बताइएको छ ।
दुखद घटना भएपछि मृतक हर्कबहादुरका नाबालक छोरासहित गाउँका ५÷६ जना धनगढीतर्फ गएका छन् । मृतकको शव धनगढीमै रहेको र घाइतेहरुको उपचार पनि धनगढीमै भइरहेका गाउँबाट मानिसहरु त्यता गएका स्थानीय नरेन्द्र नेगीले बताए ।
उक्त दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका – ४ जोखल्लीका २७ बर्षीय धिरेन्द्र नेगी, ५३ बर्षीय रामबहादुर नेगी, ६५ बर्षीया धाना नेगी, २८ बर्षीय बीरबहादुर नेगी, डिलाशैनी गाउँपालिका –४ नुवाकोटका ४४ बर्षीय जगदीश जोशी र हाइस चालक बैतडीको पुर्चौंडी नगरपालिकाका २४ बर्षीय अशोक बम घाइते भएका छन् । घाइते मध्ये धाना नेगी र चालक बमको निसर्ग अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक शर्माले बताए । अन्य चार जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । विद्युतीय हाइस अनियन्त्रित भएर सडकबाट ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए ।