
बैतडी - गौरा पर्वको अवसर पारेर स्थानीय गौरा बिशेश साँस्कृतिक समूह बुङडा बेण्डाले लोप हुँदै गएका मौलिक परम्परागत संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले देउडा कार्यक्रम आयोजना गरेको बताइएको छ।
पछिल्लो समय पुस्तान्तरण हुन नसकेका मौलिक देउडा, धुमारी, ढुस्को, ठाडो खेललगायतका सांस्कृतिक पक्ष जगेर्ना गर्न गौरा बिशेश साँस्कृतिक समूह बुङडा बेण्डाले यो पहल गरेको हो।कार्यक्रममा गाउँघरमा भुलिँदै गएको मौलिक धुन, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रमका दौरान विभिन्न उमेर समूहका सहभागीले देउडा खेलेर गौरा पर्वलाई झनै उल्लासमय बनाए।आयोजक समूहका अनुसार “संस्कृति हराउँदै गए अन्तर पुस्ता बिचको सम्बन्ध कमजोर बन्ने खतरा हुन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व रहेको समुह सहजीकरणका अगुवा गोपाल विष्टले बताए ।
गौरा बिशेश साँस्कृतिक समूह बुङडा बेण्डाले यसपछि पनि विभिन्न पर्व र अवसरमा यस्तै मौलिक सांस्कृतिक गतिविधिहरू प्रस्तुत गर्ने बताएको छ । यस वर्षको गौरा पर्वमा भने ‘संस्कृति बचाऔं, मौलिकता जोगाऔं’ भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न गरिएको आयोजक समुहका सक्रिय सदस्य जयन्त विष्टले बताए ।
यो कार्यक्रमले गाउँमा फरक प्रकारको उत्साह र उमंग ल्याएको सहभागीहरूले बताएका छन्। सामान्यतया गौरा पर्वलाई धार्मिक र परम्परागत रूपमा मात्र मनाउने चलन भए पनि यो पटक भने देउडा कार्यक्रमले गाउँभर नयाँ ऊर्जा थपेको देखिएको छ। गाउँका बुढापाकादेखि युवासम्मको सहभागिता देखिनु आफैंमा उल्लेखनीय भएको सहभागीहरूको भनाइ छ।
यसरी परम्परागत देउडा र अन्य लोकसंस्कृति पुनर्जीवित गर्ने प्रयासले युवा पुस्तामा आफ्नै मौलिकता सिक्ने र गर्व गर्ने वातावरण सिर्जना गरेको छ भने गाउँमा सामाजिक एकता र सामूहिक भावनालाई अझ मजबुत बनाउन सहयोग पुर्याएको समुहका सक्रिय सदस्य भरत विष्टको भनाइ रहेको छ ।