
कञ्चनपुर – जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति भएको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको कार्यालय र यहाँका १२ वटै वडामा गरेर तीन करोड ३१ लाख ९३ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर आठ कार्यालयले अत्यधिक क्षति व्यहोर्नु परेको उल्लेख छ । यसै गरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताए । उनका अनुसार, नगरपालिकामा सिसाका झ्याल, ढोका र ट्वाइलेटमा टुटफुट हुँदा २३ लाख पाँच हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
१२ वडा कार्यालय रहेका शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर ८ जलेर ध्वस्त भएको नगरपालिकाले जनाएको छ । यस वडामा मात्रै ५५ लाख बराबरको क्षति पुगेको जनाएको छ ।
यस्तै वडा नम्बर १ को कार्यालयमा ४६ लाख बराबरको क्षति पुगेको छ । यसै गरी वडा नम्बर २ मा २२ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ भने वडा नम्बर ३ मा २४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए ।
यहाँको वडा नम्बर ४ मा १४ लाख ६७ हजार, वडा नम्बर ५ मा २२ लाख ९० हजार र वडा नम्बर ६ मा १८ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुगेको नगरपालिकाले मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । वडा नम्बर ७ मा ४४ लाख बढीको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए ।
नगरपालिकाका अनुसार, वडा नम्बर ९ मा पनि १५ लाख २१ हजार बराबरको क्षति पुगेको छ भने, वडा नम्बर १० मा ४३ लाख ७४ हजार बराबरको क्षति पुगेको छ । यसै गरी वडा नम्बर ११ ले १३ लाख ८० हजार रुपियाँ र वडा नम्बर १२ ले १६ लाख रुपियाँ बराबरको क्षति बेहोर्नु परेको नगरपालिकाले जनाएको छ ।