Sagun Khabar
कञ्चनपुरमा आजदेखि जलपंछी गणना शुरु

 कञ्चनपुर –सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपंछीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जलपंछी गणना सुरु गरिएको छ ।

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन)को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा निकुञ्जभित्रका जलाशय, तालतलैया र सिमसार क्षेत्रका साथै निकुञ्ज बाहिरका नदी, ताल तथा सिमसार क्षेत्रमा गणक परिचालन गरिएको छ ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि सहभागी छन् । 

नेपाल पंछी संरक्षण सङ्घका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएस लगायतका उपकरण प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ । हिँडेर पुग्न नसकिने तालतलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने उनले जानकारी दिए ।

उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसार क्षेत्रमा गणना भइरहेको छ। त्यस्तै, निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायतका सिमसार क्षेत्रमा पनि गणना गरिनेछ ।
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update