Sagun Khabar
बैतडी सहित सुदूरपहाडमा नरहरी पर्व मनाइँदै

बैतडी - बैतडी सहित सुदूरपहाडमा नरहरी पर्व मनाइँदै छ ।

मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएको छ । नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ । माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए ।

बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ । मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिएको स्थानीय शिक्षक केशब दत्त भट्टले बताए ।

माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिनिन्छ । यसलाई  यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ । पौष मसान्तमा तरुल खन्न जाने  र राति पकाएर सबै एकै ठाउँमा बसेर  खाने चलन  रहिआएको छ ।

आज देखि  नै माघस्नान समेत सुरु भएको  छ । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको  छ । सुदूरपहाडमा माघे सक्रान्ति नरहरीलाई हर्षाेउल्लास तरिकाले मनाइँदै छ । यो पर्वमा कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गरेका र बिबाहित महिलाहरु माइती घर  आउने भएकाले  रमाइलो  हुने  गरेको  स्थानीय  शिक्षक भट्टले  बताए । यस्तै आज  बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ  ।

 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update