बैतडी–प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारहरुको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।
बैतडीमा एक स्वतन्त्रसहित ७ जना उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा ७२ हजार ८४३ मत खसेकोमा ५ हजार ११३ मत बदर भएको थियो । ६७ हजार ७ सय ३० मत सदर भएकोमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसरी धरौटी जफत हुनेमा राप्रपाका भुपेनबहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवर, जनता समाजवादी पार्टी (जसपा) नेपालका आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आम जनता पार्टीका विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त रहेका छन् ।
आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।






