Sagun Khabar
बैतडीका १० ओटै स्थानीय तहमा एमालेले चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्ने 

बैतडी –नेकपा एमाले बैतडीले १० ओटै स्थानीय तहमा चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्ने भएको छ । 

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले पराजित भएपछि पार्टीले चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्न लागेको एमाले बैतडीका अध्यक्ष नरेशकुमार विश्वकर्माले जानकारी दिए । 

फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सबै पालिकामा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं केन्द्रीय सदस्य दामोदर भण्डारीसहितको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

फागुन २७ गते दोगडाकेदार गाउँपालिकाको खोचलेक र डिलाशैनी गाउँपालिकाको पङसेरामा कार्यक्रमको आयोजना गरिने तय भएको छ । 

यस्तै फागुन २८ गते पुर्चौंडी नगरपालिकाको हाट, फागुन २९ गते सिगास गाउँपालिकाको गर्जे, फागुन ३० गते सुर्नया गाउँपालिकाको रौलेश्वर, चैत १ गते पञ्चेश्वर गाउँपालिकाको आमचौरा  र शिवनाथ गाउँपालिकाको सुल्लेखानमा कार्यक्रम आयोजना गरिनेछ ।

यस्तै चैत २ गते मेलौली नगरपालिकाको पार्टी कार्यालय र पाटन नगरपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । 

चैत ३ गते दशरथचन्द नगरपालिकाको जिल्ला पार्टी कार्यालयमा कार्यक्रम गरी चुनावी समीक्षा सम्पन्न गरिने एमाले बैतडीले जनाएको छ । 

२०७० सालदेखि बैतडीमा लगातर जित्दै आएको एमाले यो निर्वाचनमा तेश्रो भएको छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार दामोदर भण्डारी १७ हजार ९१ मतसहित तेस्रो स्थानमा सीमित भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update