बैतडी–नेपाली कांग्रेस बैतडीले चुनावी समीक्षा तथा भेटघाट कार्यक्रम शुरु गरेको छ ।
आजदेखि चुनावी समीक्षा तथा मतदाता भेटघाट कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीमा कांग्रेसले पराजय व्यहोरेको छ । नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएका थिए । उक्त निर्वाचनमा रास्वपा उम्मेदवार भण्डारीले २२ हजार १३४ मत ल्याएर जित निकालेका थिए । कांग्रेस उम्मेदवार चन्दले १८ हजार १९४ मत ल्याएका थिए ।
बैतडीका दशओटै पालिकामा पुगेर चुनावी समीक्षा गर्ने र मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम आजदेखि शुरु भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
आज पञ्चेश्वरको आमचौरा र शिवनाथको सुल्लेखानमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँदले बताए । कार्यक्रममा नेपाली कांग्रेसले पराजय हुनुको कारणका बिषयमा छलफल हुनुका साथै मतदाताहरुलाई धन्यवाद दिइएको उनले बताए ।
नेपाली कांग्रेसले पार्टीभित्रकै अन्तर्घातका कारण यो चुनावमा पराजय व्यहोरेको निष्कर्ष समेत निकालेको छ । चुनावी समीक्षा कार्यक्रममा यो बिषयमा समेत छलफल भइरहेको बताइएको छ ।
भोलि बिहान ११ बजे मेलौलीको काँडा र दिउँसो ३ बजे पाटनको पाटन बजारमा चुनावी समीक्षा कार्यक्रमको आयोजना गरिएको सचिव जोशीले बताए ।
यस्तै फागुन २८ गते बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँ, आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानी गरिने कांग्रेस बैतडीले जनाएको छ ।




