Sagun Khabar
एमाले बैतडीले थाल्यो चुनावी समीक्षा कार्यक्रम 

बैतडी –प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजय व्यहोरेपछि नेकपा एमाले बैतडीले चुनावी समीक्षा कार्यक्रम शुरु गरेको छ । 

२०७० सालदेखि लगातार बैतडीमा जित हाँसिल गर्दै आएको एमाले यो निर्वाचनमा प्रत्यक्षतर्फ तेश्रो भएको छ । एमाले उम्मेदवार दामोदर भण्डारीले यो निर्वाचनमा १७ हजार ९१ मत ल्याएका थिए । गएको बिहीबार सम्पन्न भएको निर्वाचनमा यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका छन् । 

एमालेले जिल्लाका १० ओटै स्थानीय तहमा उम्मेदवारसहित चुनावी समीक्षा कार्यक्रमको आयोजना गरेको युवा संघ बैतडीका अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । आज दोगडाकेदार र डिलाशैनीमा चुनावी समीक्षा कार्यक्रमको आयोजना गरिएको उनले बताए । समीक्षा कार्यक्रम अन्तर्गत मतदाता भेटघाट, पार्टी पराजय हुुनुको कारणका बिषयमा छलफल र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा छलफल हुने गरेको भट्टले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहमा उम्मेदवार भण्डारीसहितको टोलीले स्थानीय मतदाताहरुसँग भेटघाट र पार्टीका स्थानीय कमिटिहरुसँग छलफल गर्ने गरेको भट्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update