Sagun Khabar
पाटन र मेलौलीमा कांग्रेस बैतडीको समीक्षा कार्यक्रम सम्पन्न 

बैतडी– मंगलबारदेखि चुनावी समीक्षा र मतदाता भेटघाटमा जुटेको कांग्रेस बैतडीले आज पाटन र मेलौलीमा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । हिजो शिवनाथ र पञ्चेश्वरमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले पराजय व्यहोरेको छ । नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएका थिए । उक्त निर्वाचनमा रास्वपा उम्मेदवार भण्डारीले २२ हजार १३४ मत ल्याएर जित निकालेका थिए । कांग्रेस उम्मेदवार चन्दले १८ हजार १९४ मत ल्याएका थिए । 

चुनावी समीक्षा कार्यक्रममा पार्टी पराजय हुनुको कारणका बिषयमा घनिभुत रुपमा छलफल गर्नुका साथै मतदाताहरुसँग भेटघाट गर्ने गरिएको सचिव चन्दले बताए । पार्टी सभापति एवं उम्मेदवार चतुरबहादुर चन्दसहितको सहभागितामा समीक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । मतदाताहरुलाई धन्यवाद दिनका लागि प्रत्येक पालिकामा कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

नेपाली कांग्रेसले पार्टीभित्रकै अन्तर्घातका कारण यो चुनावमा पराजय व्यहोरेको निष्कर्ष समेत निकालेको छ । चुनावी समीक्षा कार्यक्रममा यो बिषयमा समेत छलफल भइरहेको बताइएको छ । 

भोलि बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँ, आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जनाइएको छ । 

यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानी गरिने कांग्रेस बैतडीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update