बैतडी–बैतडीमा दुई हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सविरुद्ध एचपीभी खोप दिइएको छ ।
गएको माघ २७ देखि फागुन २ गतेसम्म जिल्लामा सञ्चालन भएको एचपीभी खोप अभियान अन्तर्गत २ हजार ७९ जना किशोरीहरुलाई खोप दिइएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
नेपाल सरकारले यो बर्षदेखि एचपीभी खोपलाई नियमित खोपको रुपमा समावेश गरिसकेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । जिल्लामा २४ सय ५३ जना किशोरीहरुलाई खोप दिने लक्ष्य रहेकोमा २ हजार ७९ जनालाई खोप दिइएको उनले बताए ।
यो बर्ष कक्षा ६ मा अध्ययनरत किशोरी, विद्यालय बाहिर रहेका १० बर्ष उमेर समूहका किशोरी र गत बर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई खोप दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
जिल्लाको दशरथचन्द नगरपालिकामा २ सय २०, पाटन नगरपालिकामा २ सय १५, पुर्चौंडी नगरपालिकामा ४ सय ७८ र मेलौली नगरपालिकामा १ सय ८७ जना किशोरीहरुलाई खोप दिइएको सूचना अधिकारी कार्कीले बताए ।
यस्तै डिलाशैनी गाउँपालिकामा २ सय ३४, दोगडाकेदार गाउँपालिकामा १ सय ७४, सुर्नया गाउँपालिकामा १ सय २७, सिगास गाउँपालिकामा १ सय ८१, शिवनाथ गाउँपालिकामा १ सय ७८ र पञ्चेश्वर गाउँपालिकामा ८५ जना किशोरीलाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत बर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।




