बैतडी–प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ ।
बैतडीमा नेपाल प्रहरीतर्फ १२ सय ७९ र सशस्त्र प्रहरीतर्फ ९६ जना निर्वाचन प्रहरी भर्ना गरिएका थिए । निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई उनीहरुले पाउने सेवासुविधासहित बिदाइ गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए ।
निर्वाचनको समयमा बैतडीका २ सय १५ ओटै मतदान केन्द्रमा निर्वाचन प्रहरी अन्य सुरक्षाकर्मीहरुसँग खटाइएका थिए । जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
बैतडीमा सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म र जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीहरुलाई सम्मानसहित बिदाइ गरेको हो । निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।
चुनावमा देशभरी डेढ लाख निर्वाचन प्रहरी खटिएका थिए ।





