Sagun Khabar
एसईईमा सहभागी हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले एसईईमा सहभागी हुने विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको छ । 

माध्यमिक तहसम्मको पढाइ हुने पालिकाभरीका १३ ओटै विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । अंग्रेजी, गणित र विज्ञान बिषयका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । 

गएको पौष १ गतेदेखि फागुन अन्तिमसम्म विद्यालयहरुमा अतिरिक्त कक्षा सञ्चालन गरिएका शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

एसईईमा सहभागी हुने विद्यार्थीहरुको सहजताका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएका हुन् । विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, एसईईको नतिजामा सुधार ल्याउने लगायतका उद्देश्य राखेर अतिरिक्त कक्षा सञ्चालन गरिएको बताइएको छ । 

त्यस्ता कक्षाहरु विद्यालय समयभन्दा अतिरिक्त समयमा सञ्चालन गरिएका शिक्षा शाखा प्रमुख अवस्थीले बताए । विद्यालयहरुमा अतिरिक्त कक्षा सञ्चालनका लागि गाउँपालिकाले ४ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । अतिरिक्त कक्षा अध्यापन गरेबाफत प्रत्येक शिक्षकलाई चार हजारका दरले पारिश्रमिक उपलब्ध गराइने बताइएको छ । 

एसईईमा सहभागी हुने विद्यार्थीहरुका लागि सञ्चालन गरिएको अतिरिक्त कक्षाले विद्यार्थीहरुलाई सहयोग पुगेको शंकर संस्कृत मावि मूलखटालीका प्रधानाध्यापक भानबहादुर बिष्टले बताए । अतिरिक्त कक्षाले कमजोर विद्यार्थीहरुलाई समेत सहयोग पुगेको उनले बताए । गाउँपालिकाले तीन महिना कक्षा सञ्चालन गर्न भनेको भएपनि आफूहरुले चैत १५ गतेसम्म अतिरिक्त कक्षा सञ्चालनमा ल्याउने प्रधानाध्यापक बिष्टले बताए । 

एसईईमा सहभागी हुने विद्यार्थीहरुका लागि गाउँपालिकाको सहयोगमा अतिरिक्त कक्षा सञ्चालन गरिएकोमा कक्षा ५ र ८ का लागि विद्यालयकैतर्फबाट अतिरिक्त कक्षा सञ्चालन गरिएको उदयदेव मावि पालिगडाका प्रधानाध्याक बिर साउँदले बताए । अतिरिक्त कक्षाले विद्यार्थीहरुलाई निकै सहयोग पुगेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update