बैतडी–बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र हत्याका घटना रोक्न दलित समाज विकास मञ्च बैतडीले माग गरेको छ ।
पछिल्लो समयमा बालिका तथा किशोरीमाथि जघन्य अपराधका घटना बढ्दै गएकाले बालबालिका सुरक्षा, संरक्षण र न्याय सुनिश्चित गर्ने राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठेको समाजले उल्लेख गरेको छ ।
सुर्खेतमा १६ बर्षीया किशोरी इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको, कञ्चनपुरमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरिएको, दैलेखमा १२ बर्षीया किशोरीमाथि आफ्नै काकाले बलात्कार गरेको घटनाले समाजमा बालिका तथा किशोरीहरु असुरक्षित रहेका तथ्य बाहिर आएको दलित समाज विकास मञ्चले ठहर गरेको छ ।
यस्ता घटनाहरुले बालिका तथा किशोरीहरुमाथि विभिन्न कारणले हुने हिंसा र हत्याका घटना बढ्दै गएको देखिएकाले राज्यले तत्काल यस्ता घटनाहरु रोकथाम गर्नुपर्ने समाजले जनाएको छ । समाजका अध्यक्ष सरस्वती नेपालीले जारी गरेको ध्यानाकर्षण पत्रमा बालबालिकाहरुको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ ।
हत्या, यौन हिंसा लगायतका जघन्य अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरमा ल्याएर कारवाही गर्न दलित समाज विकास मञ्चले आग्रह गरेको छ ।





