बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नगर समितिले दश बुँदे ज्ञापन पत्र बुझाएको छ ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा नगरपालिकालाई विभिन्न प्रश्नसहित जवाफ माग गरेको छ ।
रास्वपाका पुर्चौंडी नगर सभापति वसन्तराज जोशीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा गत भदौमा नगरपालिकाको स्काइभेटरमा आगो लगाउने अराजक समूहको खोजी किन नगरिएको र स्काइभेटर रोडमै किन छोडिएको भनेर प्रश्न गरिएको छ ।
यस्तै नगरपालिकाले अल्लो र ब्लक उत्पादनका लागि खरीद गरेको मेसिन कुन शीर्षकबाट खरीद गरिएको र प्रयोगमा भए÷नभएको बारेमा जानकारी माग गरिएको छ । नगरपालिकाको वडा नं ८ मल्लादेहीको बजेटबाट खरीद गरिएको थ्रेसर मेसिन रोडमै अलपत्र छोडिएको बिषयमा जानकारी माग गरिएको नगर सभापति जोशीले बताए ।
यस्तै रास्वपाले बुझाएको ज्ञापन पत्रमा विद्युत महसुल समयमै नउठाउँदा सेवाग्राहीले चर्को महसुल तिर्नुपरेकाले नगरपालिकाले सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । वडा नं १ स्थित आँखा उपचार केन्द्रको सेवा प्रभावकारी नभएको गुनासो आएकाले यो बिषयमा स्पष्ट पार्न नगरपालिकालाई आग्रह गरिएको छ ।
यस्तै पुर्चौंडीका धेरै वडामा विद्युत सुचारु हुने भनेर पहिला नै वाइरिङ गरिसक्दा समेत विद्युत विस्तार नभएकाले कहिले हुने हो भनेर नगरपालिकालाई प्रश्न सोधिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य फाँट प्रमुखहरु लामो समय बिदा बस्दा सेवाग्राहीलाई समस्या हुने गरेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पुर्चौं नगरपालिकादेखि कुवाकोट जाने सडक निर्माणका लागि सञ्चालन गरिएको क्रेसरले जथाभावी बालुवा÷गिट्टी उत्पादन गरेर व्यक्तिगत प्रयोजनमा लगाइरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यस्तै नगरपालिकामा कार्यरत करार कर्मचारीको बिषय,नगरपालिकाका विभिन्न शाखाबाट खरीद भएका सामग्रीहरुका बिषयमा पनि स्पष्ट पार्न रास्वपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
आइतबार नगर प्रमुख दिपकबहादुर बमलाई ज्ञापन पत्र बुझाउँदै रास्वपाले नगर सरकारले जवाफदेही बन्न आग्रह गरेको बताइएको छ ।




