बैतडी –बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झ्याउलेकमा शनिबार बिहान सवा २ बजेको समयमा नेपालगञ्जबाट बझाङतर्फ गइरहेको सुपप्र ०१–००१ ख २८०९ नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
सिमेन्ट बोकेको लोड ट्रक अनियन्त्रित भइ सडकबाट करीब २५ मिटर तल खसेको जनाइएको छ । उक्त दुर्घटनामा पाटन नगरपालिका–८ की २५ बर्षीया निर्मला बिष्ट, उनको छोरा सात बर्षीय अभिषेक बिष्ट र उनको कान्छो छोरा ४ बर्षीय प्रियान्स बिष्ट घाइते भएका छन् ।
यस्तै पाटन नगरपालिका –८ घर भएका ट्रक चालक ३६ बर्षीय कृष्ण बिष्टलाई पनि सामान्य चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए ।
घाइते चारै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरीचौकी खोड्पेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




