Sagun Khabar
बैतडीमा पनि मनाइयो जातीय विभेद उन्मूलन दिवस 

बैतडी –बैतडीमा पनि अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको उपलक्ष्यमा हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाउने गरिएको हो । 

दिवसको अवसरमा दलित समाज विकास मञ्च बैतडी विभिन्न अन्तरक्रियात्मक छलफल गरेको छ । एकता परिवर्तनका लागि किशोरी समूहसँगको सहकार्यमा दिवसको अवसरमा छलफलको आयोजना गरिएको दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले बताइन् । 

नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछुतलाई दण्डनीय हुने व्यवस्था गरेको छ भने २०६३ सालमा पुनःस्थापित संसद्ले जातीय भेदभावमुक्त राष्ट्र घोषणा समेत गरेको थियो ।  वर्तमान संविधानले समेत जातका आधारमा हुने भेदभावलाई दण्डनीय हुने भनेको छ । तर व्यवहारमा भने कानुनहरुको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन् । 

जातका आधारमा ठुलो असमानता र विभेदव्याप्त नेपालमा अहिले पनि जातीय विभेद र अत्याचारका असामान्य घटनाहरू भइरहेकै छन् । 

जातीय विभेद अन्त्यका लागि राज्यका निकायहरुमा अझै पनि दलित समुदायको पहुँच न्यून रहेको अध्यक्ष नेपालीले बताइन् । संसद, सरकार र राज्यका अन्य निकायहरूमा दलित समुदायको प्रतिनिधित्व न्यून रहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update