बैतडी –जिल्ला अस्पताल बैतडीमा हाड–जोर्नीको जटिल शल्यक्रिया सेवा शुरु भएको छ । काटेको रुख ढलेर खुट्टामा परेपछि दोगडाकेदार गाउापालिका– ३ का एक पुरुषको घुाडामुनिको दुबै हड्डीको सानो चिराबाट हाड–जोर्नीको जटिल शल्यक्रिया गरिएको हो ।
यस अघि जिल्ला अस्पतालमा यो सेवा नभएपछि बाहिर पठाउनुपर्ने अवस्था थियो । तर यसपटक भने जिल्ला अस्पतालका हाडजोर्नी विषेशज्ञ डा.दीपेन्द्र भण्डारी र जनरल फिजिसियन अरविन्द जोशी लगायतको टोलीले उक्त शल्यक्रिया बैतडी अस्पतालमै गर्न सफल भएका हुन् ।
सानो चिरा पारेर (क्लोज रिडक्सन एन्ड इन्टरनल फिक्सेशन विथ आइएमआइएल नेलिङ) गरिने शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका प्रमुख एवं शल्यक्रिया टोलीका सदस्य डाक्टर अरविन्द जोशीले बताए । उनले भने, ‘हामीले हाडजोर्नी जटिल शल्यक्रिया अस्पतालमै गर्न सफल भएका छौं । यसले यहाँका सेवाग्राहीलाई अब सहज हुनेछ ।’
यसअघि हाडजोर्नी रड राखेर मात्रै शल्यक्रिया गरिने भएपनि अब सानो चिराबाट शल्यक्रिया गर्न सकिने डा. जोशीले बताए । यस्तो प्रकारको शल्यक्रियाका लागि जिल्ला बाहिर जाँदा धेरै खर्च हुने गरेको भएपनि अब जिल्ला अस्पतालमा ५० हजारभन्दा कम लगानीमै शल्यक्रिया सम्पन्न भएको डा. जोशीले बताए ।
जिल्ला अस्पताल बैतडी प्रदेश सरकार मातहत आएपछि पहिलो पटक नवौं तहको कार्यालय प्रमुख पाएको अस्पतालले आफ्नो सेवालाई परिष्कृत गर्दै लगेको छ । अहिले जिल्ला अस्पतालमा चार जना बिशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए ।
सरकारले ५० शैय्याको दरबन्दी स्वीकृत गरी कर्मचारी र उपकरण व्यवस्थापन गरे बैतडी अस्पतालबाटै धेरै किसमको उपचारात्मक सेवा दिन सकिने सूचना अधिकारी पन्तले बताए ।
जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आफूले प्रयास गरिएको जिल्ला अस्पतालका प्रमुख डा. जोशीले बताए ।




