बैतडी –सुदूरपश्चिममा ३८ सय १२ जना एचआइभी संक्रमित उपचारमा रहेका छन् । स्वास्थ्य निर्देशनालय डोटीले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उक्त संख्यामा रहेका एचआइभी संक्रमितहरुले एआरटी औषधी सेवन गरिरहेका जनाकारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेशमा एड्स हेल्थ फाउण्डेसन नेपालको सहयोगमा एचआइभी संक्रमितहरुका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेका निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए ।
एड्स हेल्थ फाउण्डेसन एक अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वका करिब ५० देशहरूमा एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा एड्स हेल्थ फाउण्डेसनले १९ वटा एआरटी केन्द्र तथा २ वटा सीमा नाकाहरूमा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशमा ४ वटा एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको छ । यसका अतिरिक्त एड्स हेल्थ फाउण्डेसनले समुदायस्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम, परीक्षण सेवाको विस्तार, तथा गुणस्तरीय औषधि र उपचार सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सुदूरपश्चिममा बिशेष गरेर भारतमा काम गर्ने श्रमिकहरुबाट एचआइभी संक्रमण फैलिने गरेको पाइएको छ । प्रदेशमा १९ ओटा एचआइभी परीक्षण तथा परामर्श केन्द्र, १९ ओटा एआरटी सेवा केन्द्र र ३ ओटा भाइरल लोड परीक्षण केन्द्र गरेका क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिए ।
सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीको गोदावरी नगरपालिकामा २ सय ९१ जना एचआइभी संक्रमित रहेका छन् । प्रदेशका ८८ ओटा पालिकामध्ये ६ ओटा पालिकामा एचआइभी संक्रमितको संख्या शून्य रहेको छ ।
कम्तीमा १० जनासम्म एचआइभी संक्रमित रहेका पालिकाको संख्या २६ छ भने कम्तीमा २० जना एचआइभी संक्रमित रहेका पालिकाको संख्या १७ रहेको छ । कम्तीमा ५० जना एचआइभी संक्रमित रहेका पालिकाको संख्या १६, कम्तीमा १ सय जना एचआइभी संक्रमित रहेका पालिकाको संख्या १३ र कम्तीमा २ सय एचआइभी संक्रमित रहेका पालिकाको संख्या ८ रहेको छ । प्रदेशका २ ओटा पालिकामा २ सय बढी एचआइभी संक्रमित रहेका क्षयकुष्ठ अधिकृत ओझाले बताए ।
एचआइभी संक्रमितहरुलाई गरिने भेदभाव अन्त्यका लागि पत्रकारहरुमार्फत सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको एड्स हेल्थ फाउण्डेसन नेपालले जनाएको छ ।




