Sagun Khabar
आज चैते दशैँ पर्व मनाइँदै

काठमाण्डौ – हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । आज अष्टमीको दिनलाई चैते दशैँ र भोलि नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ । 

चैते दशैँको अवसरमा काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा विशेष पूजा हुन्छ । 

यसैगरी काठमाण्डौ उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । 

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।  
 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update