Sagun Khabar
बैतडीमा जिल्ला सुरक्षा समितिको बैठक : उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय 

बैतडी–बद्लिँदो राजनीतिक परिस्थितिमा बैतडीमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउने निर्णय भएको छ । 

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । जिल्लाबासीको जीउधनको सुरक्षा गर्ने, सार्वजनिक तथा निजी सम्पत्तीको सुरक्षा गर्ने दायित्व स्थानीय प्रशासन भएकाले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्ने निर्णय भएको उनले बताए । 

बैठकमा प्रमुख जिल्ला अधिकारी थापाका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । 

बैठकले जिल्लाको वर्तमान शान्ति सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ । साथै यसलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूबीच आपसी समन्वय गर्दै उच्च सतर्कताका साथ परिचालन हुने निर्णय गरिएको छ ।

त्यसैगरी, देशको पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिका कारण उत्पन्न हुनसक्ने सम्भावित विरोध प्रदर्शन, जुलुस तथा अन्य गतिविधिले शान्ति सुरक्षामा पर्न सक्ने प्रभावप्रति बिशेष ध्यान दिँदै सुरक्षा निकायहरूलाई सजग रहन निर्देशन दिइएको छ ।

विशेषगरी पूर्व प्रधानमन्त्री एवं पूर्व गृहमन्त्रीको पक्राउसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा निगरानी, चेकजाँच तथा अन्य सुरक्षा रणनीतिहरू कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update