बैतडी –जेनजी आन्दोलनमा शहीद भएका बैतडीको शिवनाथका दिपकसिंह साउँदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।
शहीद दिपककी भाउजु सरस्वती साउँदले नेपाल विद्युत प्राधिकरणमा रोजगारी पाएकी हुन् । नेपाल विद्युत प्राधिकरणको जनसाधारण विभागले आइतबार रोजगारी पाउने जेनजी शहीदका परिवारका सदस्यहरुको नामावली प्रकाशन गरेको छ ।
उक्त नामावलीमा शहीद साउँदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । नेपाल विद्युत प्राधिकरणले साउँदसहित २७ जना जेनजी शहीदका परिवारका सदस्यहरुलाई रोजगारी दिने उल्लेख गरेको छ ।
शिवनाथ गाउँपालिका–२ शर्माली घर भएका दिपक साउँदको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि जेटीएको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।
जेनजी आन्दोलनमा उनी शहीद भएपछि सरकारले यसअघि नै उनको परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ । यस्तै शिवनाथ गाउँपालिकाले पनि शहीद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि शहीद परिवारलाई प्राथमिकतामा राखिएको उनले बताए ।




