बैतडी–बैतडीमा लागू औषध नियन्त्रणको माग गर्दै जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
लागू औषधका कारण युवाहरुको जीवन बर्बाद हुँदै गएको भन्दै स्ववियु अध्यक्ष रोशन भट्ट नेतृत्वको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई ज्ञापन पत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पाँच बुँदे ज्ञापन पत्रमा बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले सीमा नाकामा कडाइ गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै जिल्लाका प्रमुख बजारहरुमा नियमित गस्ती र निगरानी गर्नुपर्ने र लागू औषधको कारोबारमा संलग्न गिरोहलाई कानुनी कारवाहीको दायरमा ल्याउनुपर्ने माग गरिएको छ ।
यस्तै औषधी पसलहरुमा नियमित अनुगमन गर्नुपर्ने, शैक्षिक संस्थाको पाँच सय मिटर वरपर सूर्तीजन्य पदार्थको कारोबारमा रोक लगाउनुपर्ने र लागू औषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्ववियुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले लागू औषध नियन्त्रणका लागि स्थानीय प्रशासन सक्रिय रहेको बताएको स्ववियु अध्यक्ष भट्टले बताए ।
जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यसअघि पनि विद्यार्थीहरुको हकहितका लागि विभिन्न अभियान र कामहरु गर्दै आएको अध्यक्ष भट्टले बताए ।




