Sagun Khabar
सुर्नया गाउँपालिकाको गाउँसभा फेरि स्थगित 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको गाउँसभा फेरि स्थगित भएको छ । आजका लागि बोलाएको सभा स्थगित भएको गाउँपालिकाका प्रवक्ता प्रताप महराले बताए । 

गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद थपका बिषयमा विवाद भएपछि गाउँसभा स्थगित भएको बताइएको छ । यही चैत ११ गतेका लागि बोलाएको गाउँसभा चैत १५ मा सारिएको थियो । आइतबार पनि सभा हुन नसकेपछि आजका लागि बोलाइएको थियो । सभामा सहमति हुन नसकेपछि स्थगित भएको प्रवक्ता महराले बताए । 

स्थानीय सरकार सञ्चालन ऐनमा साधारणतया बर्षको दुई पटक गाउँसभा गर्नुपर्ने उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको यो बर्षको दोश्रो गाउँसभा अहिले सम्म बस्न सकेको छैन् । 

विभिन्न मागहरु राखेर जेनजी समूहले ३९ दिन गाउँपालिकामा तालाबन्दी गरेको थियो । उनीहरुका माग सम्बोधनका लागि ११ बुँदे समझदारी गर्दै गएको कार्तिक ३० गते तालाबन्दी खोलिएको थियो । 

जेनजी समूहसँग भएका अधिकांश सम्झौताहरु कार्यान्वयन नभएको भन्दै उक्त समूहले माग पूरा गरेर मात्रै सभा सञ्चालन गर्न आग्रह गर्दै आएको छ । तर ती मागहरु अहिलेसम्म पू्रा नभएको जेनजी अगुवा विशाल भट्टले बताए । 

गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको हकमा गाउँपालिकाभित्र विवाद रहेको बताइएको छ । जेनजी समूहसँगको सम्झौतामा यसअघि संघीय अनुदानबाट तलबभत्ता खाइपाइ आएका कर्मचारीहरुको तलब रोकिएपछि पौष मसान्तमा बिदाइ गर्ने सहमति भएको थियो । तर ती कर्मचारीहरुलाई अहिले पनि निरन्तरता दिइरहेको बिषयमा सहमति नभएको बताइएको छ । 

गाउँसभा कहिले सञ्चालन गर्ने भन्ने बिषयमा फेरि छलफल गरिने प्रवक्ता महराले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update