Sagun Khabar
बैतडीको शिवनाथमा स्वास्थ्य शिविर : १ सय २३ जनाले सेवा लिए 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित नागार्जुन आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय २३ जनाले सेवा लिएका छन् । 

स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग तथा शिवनाथ गाउँपालिकाको समन्वयमा आज एक दिने शिविर सञ्चालन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख जीवनसिंह साउँदले बताए । 

उक्त शिविरमा ३१ जना गर्भवती महिला र ९२ जना अन्य सेवाग्राहीले सेवा लिएका उनले बताए । 

शिविरमा नसर्ने रोगहरूको परीक्षण, रक्तचाप तथा ब्लड सुगर जाँच, गर्भवती महिलाका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा, दीर्घ श्वासप्रश्वास, मृगौला, क्यान्सर र हृदयसम्बन्धी रोगहरूको जाँच तथा परामर्श प्रदान गरिएको थियो । साथै मानसिक स्वास्थ्य परामर्श, स्वास्थ्य सचेतना कार्यक्रम तथा निःशुल्क औषधि वितरण समेत गरिएको साउँदले बताए । 

ग्रामीण भेगका नागरिकहरुलाई लक्षित गरेर सञ्चालन भएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका वडा अध्यक्ष बल्देवसिंह चाडले बताए । 

शिविरमा चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएको साउँदले बताए । गाउँमै चिकित्समार्फत सेवा पाएपछि स्थानीय नागरिक खुशी भएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update