बैतडी–सरकारले सुदूरपश्चिमका २३ ओटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको भएपनि सुर्नया गाउँपालिका भने अझै प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको माघ २ गते जिल्ला हुलाक कार्यालय कैलालीमा कार्यरत शाखा अधिकृत जितेन्द्र विकलाई सरुवा गरेको भएपनि उनी पनि हाजिर भएका छैनन् ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिदिन मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भएपनि अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गएको कार्तिक २६ गतेदेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण कामकाज ठप्प भएका छन् । सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासाका लागि गाउँपालिकामै कार्यरत अधिकृत लोगराज जोशीलाई मन्त्रालयले आर्थिक अधिकार दिएको थियो ।
गाउँपालिकाको यो बर्षको दोश्रो गाउँसभा समेत विवाद कारण सञ्चालन हुन सकेको छैन् । करार कर्मचारीको व्यवस्थापनका बिषयमा विवाद हुँदा गाउँसभा बस्न सकेको छैन् । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गर्नुपर्ने कतिपय योजनाका कामहरु समेत ठप्प भएका छन् ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु ठप्प भएका बताइएको छ ।





