बैतडी–बैतडीको पाटन नगरपालिका अन्तर्गत रहेको पाटन बजार क्षेत्रमा अनुगमन गरिएको छ ।
शनिबार अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ ।
नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट अखाद्य सामग्री बरामद गरेको थियो । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख बोहराले बताए ।
अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । बजार अनुगमन गर्दा व्यापारीहरुलाई उपभोग्य मिति हेरेरमात्रै खरीद विक्रि गर्न आग्रह गरिएको बजार अनुगमन समितिले जनाएको छ ।
यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ । बजारबाट कुनै पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उपभोक्ताहरुलाई पनि आग्रह गरिएको छ ।





