बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालन गरिएको निशुल्क प्रजनन स्वास्थ्य शिविरबाट १ सय ९८ जनाले सेवा लिएका छन् ।
चैत १५ गतेदेखि २१ गतेसम्म गाउँपालिकाभित्रका ५ ओटा स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।
महराका अनुसार वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्र, वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकी, वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकी, वडा नं ५ स्थित रौलेश्वर स्वास्थ्यचौकी र वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ५४ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ भने ६३ जनाको प्रजनन रोग सम्बन्धी जाँच गरिएको छ ।
यस्तै शिविरमा ७५ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको र ६ जना पाठेघर खसेका महिलाहरुमा रिङ पेसरी राखिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई नजिकैको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।





