बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । नगरपालिका स्थापना भएको ३० बर्ष पुगेको अवसरमा नगरपालिकाले स्थापना दिवस मनाएको हो ।
गएको चार बर्षयता दशरथचन्द नगरपालिकाले चैत २४ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको नगरपालिकाका अधिकृत राजबहादुर बिष्टले जानकारी दिए ।
स्थापना दिवसको अवसर पारेर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ भने माटो परीक्षण प्रयोगशालाको समेत उद्दघाटन गरेको छ । किसानहरुले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि कृषि एम्बुलेन्सले सहज हुने अधिकृत बिष्टले बताए ।
यस्तै नगरपालिकाले शव निशुल्क शव वाहनको व्यवस्था समेत गरेको छ । नगर क्षेत्रभित्र निशुल्क रुपमा शव वाहन उपलब्ध गराइने अधिकृत बिष्टले बताए ।
नगरपालिका स्थापना दिवसको अवसरमा बोल्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नगरपालिकाले नगर क्षेत्रभित्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । यस्तै उनले आगामी दिनमा समेत नगरपालिकाले यो क्षेत्रका समस्यालाई ध्यानमा राखेर आफ्ना नीति, कार्यक्रम र बजेट बनाउने बताए ।





