बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यही चैत २७ गतेदेखि आँखा शिविर सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
शिवनाथ गाउँपालिका अन्तर्गत रहेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सबै वडाहरुमा आँखा शिविर सञ्चालनको तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
चैत २७ गते वडा नं १ को कार्यालयमा शिविर सञ्चालन हुनेछ भने चैत २८ गते वडा नं १ कुण पणेरामा शिविर सञ्चालन हुने बताइएको छ । चैत २९ र ३० गते वडा नं २ को कार्यालयमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
वैशाख २ गते वडा नं ३ को कार्यालयमा शिविर सञ्चालन हुनेछ भने वैशाख ३ गते वडा नं ४ स्थित उदयदेव स्वास्थ्यचौकी र वैशाख ४ गते वडा नं ४ कै चन्द्रदेवल माविमा शिविर सञ्चालन हुनेछ ।
यस्तै वैशाख ५ गते वडा नं ५ को कार्यालयमा र वैशाख ६ गते वडा नं ५ कै उदयदेव मावि कफाडीमा शिविर सञ्चालन हुनेछ ।
यस्तै वैशाख ७ गते वडा नं ६ को जिम्मेश्वर आधारभूत विद्यालय हिरापुरमा शिविर सञ्चालन हुनेछ भने वैशाख ८ गते वडा नं ६ कै शिवनाथ स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ ।
शिविरमा दृष्टि परीक्षण, मोतीबिन्दुको परीक्षण र छनौट, जलविन्दुको जाँच गरिनेछ । यस्तै आँखा रातो हुने, आँखा दुख्ने, आँखामा मासु पलाएको, आँखा बिझाउने, आँखामा आँसु आउने लगायतका समस्याहरुको जाँच र औषधी वितरण गरिने बताइएको छ ।
यस्तै नजिकको लेखपढ गर्न समस्या भएकाहरुलाई शिविरमा निशुल्क चश्मा वितरण गरिने शिवनाथ गाउँपालिकाले जनाएको छ । आँखाको समस्या भएका नागरिकहरुलाई शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।





