बैतडी –बैतडीको सतबाँझस्थित नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले मृतक सदस्यका परिवारलाई बीमा र किरिया खर्च बाफतको रकम हस्तान्तरण गरेको छ ।
सुर्नया गाउँपालिका –६ लघुबित्तको ५८ नम्बर केन्द्रमा आवद्ध भागरथी कुँवरको गत पौषमा निधन भएको थियो । कुँवरले लघुबीत्तबाट बाख्रापालनका लागि ३ लाख रुपैयाँ ऋण निकालेकी थिइन् । सोही बेला उनको सूर्य ज्योति लाइफ इन्स्योरेन्समा कर्जा बीमा गरिएको थियो ।
मृतक भागरथीका श्रीमान विजयबहादुर कुँवरलाई बुधबार उनकै घरमा पुगेर किरिया खर्चबाफतको २५ हजार र बीमा बाफतको रकम हस्तान्तरण गरिएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था सतबाँझका प्रमुख कमलराज जोशीले बताए ।
बीमाको ३ लाख रुपैयाँमध्ये भागरथीले लिएको कर्जा २ लाख ६० हजार चुक्ता गरी बाँकी रकम उनको परिवारलाई हस्तान्तरण गरिएको जोशीले बताए ।
संस्थाले आफ्नो केन्द्रमा आवद्ध भएका सदस्यहरुको मृत्यु भएमा उनका घरपरिवारलाई किरिया खर्चबाफत २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको संस्थाका कनिष्ठ सहायक विनोद अवस्थीले बताए ।





