बैतडी– बरिष्ठ लोक तथा देउडा गायक एवं संगीतकार टेकराज अवस्थी गम्भीर बिरामी भएका छन् ।
झण्डै तीन दशकदेखि देउडा गायनको क्षेत्रमा सक्रिय रहेका अवस्थी एक्कासी बिरामी भएका उनका दाजु मुरलीधर अवस्थीले बताए ।
गायक तथा संगीतकार अवस्थीलाई जण्डीस र पेनक्रियाजमा ट्युमरको समस्या देखिएको बताइएको छ । अहिले उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
बैतडीको सिगास गाउँपालिका–९ गन्सुर घर भएका अवस्थी हाल कैलालीको गोदावरी–५ गेटीगाउँमा बसोबास गर्दै आएका छन् । उनले ओम डिजिटल रेकर्डिङ स्टुडियो समेत सञ्चालन गरिरहेका छन् ।
लोक देउडाको क्षेत्रमा अवस्थी कालजयी गीतहरु गाउनुका साथै सैयौं गीतहरुमा संगीत भरेका छन् ।
लोक संस्कृति संरक्षणमा तल्लीन रहेका गायक अवस्थीको उपचारमा आर्थिक अभाव रहेकाले सबै मनकारीहरुबाट सहयोगको अपिल गरिएको उनका दाजु मुरलीधर अवस्थीले बताए ।
गायक अवस्थीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले उनकी छोरी तुलसी अवस्थीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०३००२५३६३५२०००१० मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ । साथै थप जानकारीका लागि उनका दाजु मुरलीधर अवस्थीलाई ९८६३११०२८९ मा सम्पर्क गर्न सकिनेछ ।





